इङ्ल्यान्ड युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको पहिलो क्वाटरफाइनलमा स्पेनलाई अतिरिक्त समयमा २(१ गोलले पराजित गर्दै इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा पुगेको हो ।
दी अमेरिकन एक्स्प्रेस कमिटी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जीत दिलाउन इल्ला टोने र जोर्जिया स्टानवेले गोल गरेका हुन् । स्पेनको लागि इस्थर गोन्जालेजले एक गोल गरिन् । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन पराजित हुन बाध्य भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा एन्थेनाको पासमा इस्थरले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ८४ औं मिनेटमा एल्सिया रुसोको पासमा टोनेले गोल गर्दै घरेलु टोलीलाई १(१ गोलको बराबरीमा ल्याइन् । बाँकी समयमा दुवै टोलीमा थप गोल हुन नसक्दा अतिरिक्त समयमा पुगेको खेलमा ९६ औं मिनेटमा वाल्सको पासमा जोर्जिनले गरेको गोल नै इङ्ल्यान्डको जीतमा निर्णायक बन्यो ।
जीतसँगै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्दा पराजित स्पेन प्रतियोगिताबाट बाहिरिएको छ । अब इङ्ल्यान्डले फाइनल प्रवेशको लागि स्वेडेन र बेल्जियमबीच हुने खेलको विजेतासँग खेल्नेछ ।