सोमबार, असोज २१, २०८१

निर्वाचनको लागि स्वदेश फर्केन प्रवासी नेपालीलाई एमालेको आग्रह

काठमाण्डौ,२३ चैत । आसन्न स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)ले प्रवासका नेपालीलाई स्वदेश फर्कन अपील गर्ने निर्णय गरेको छ । मंगलवार राजधानीमा घोषणापत्र तयार पार्न गठन भएको घोषणापत्र मस्यौदा र निर्वाचन अनुगमन कमिटीको पहिलो बैठक सम्पन्न गर्दै सो अपील गरेको हो ।
एमाले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा गठित सो कमिटीको बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट बनाइने घोषणा-पत्रका बारेमा प्रारम्भिक छलफल भएको एमालेले जानकारी दिएको छ ।

‘नेपाली जनताका प्रतिनिधिहरुद्वारा संविधानसभामार्फत जारी संविधानले नै अबको हाम्रा कार्यभार आर्थिक–सामाजिक रुपान्तरणमार्फत समाजवादउन्मुख तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणापत्र जनतासमक्ष लैजाने गरी छलफल अघि बढाइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा गठित स्थानीय निर्वाचन समन्वय तथा अनुगमन समितिको बैठक पनि मंगलबार नै बस्ने भएको छ ।

सोमबार बसेको स्थायी समितिको बैठकले यसअघि नै स्थानीय निर्वाचनलाई ध्यानमा राखी मातहतका सम्मेलन तथा अधिवेशनहरु स्थगित गर्ने निर्णय गरिसकेको छ । देशबाहिर रहेका प्रवासी नेपाली मञ्चका अधिवेशनहरु वैशाखदेखि जेठको पहिलो सातासम्म स्थगित गर्ने निर्णय पनि एमालेले यस अघि नै गरिसकेको छ ।

दुई दशकपछि आयोजना हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुनका लागि प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्की सक्रियतापूर्वक भाग लिन पनि बैठकले आग्रह गरेको छ ।