बिहिबार, बैशाख १३, २०८१

इङ्ल्याण्डविरुद्धको टि-२० आई सिरिज भारतलाई

भारतले इङ्ल्याण्डविरुद्धको टि-२० आई सिरिज जितेको छ । शनिबार भएको दोस्रो खेलमा इङ्ल्यान्डलाई ४९ रनले पराजित गर्दै भारतले ३ खेलको सिरिजमा २-० को अग्रता लिएको हो ।

जीतको लागि १ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १७ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा समेटियो । इङ्ल्यान्डका मोइन अली र डेविड विलि बाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा घरेलु टोली पराजित हुन पुग्यो । अलीले २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाउँदा विलीले ३३ रन जोडे । उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै डेविड मलानले १९ र लिएम लिभिङ्स्टोनले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न भारतका भुव्नेश्वर कुमारले ३ ओभरमा १ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिए । यस्तै जस्प्रित बुम्रा र युज्वेन्द्र चहालले २/२ विकेट लिँदा हार्दिक पाण्ड्य र हर्सल पटेलले एक/एक विकेट लिए ।

यसअघि बिर्घिङ्हाममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । ओपनर रोहित शर्मा र ऋषव पन्तले भारतलाई राम्रो शुरुवात दिलएपनि डेब्यु खेल खेलेका रिचार्ड ग्लेसनले रोहित शर्मा, विराट कोहली र ऋषव पन्तलाई पभिलियन पठाउँदै इङ्ल्यान्डलाई खेलमा फर्काएका थिए ।

भारतको लागि रविन्द्र जडेजाले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा ५ चौका प्रहार गरे । कप्तान रोहित शर्माले २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाउँदा ऋषक पन्तले २६ रन जोडे । उनले १५ बलमा ४ चौका र १ छक्का हिर्काए । यस्तै सुर्यकुमार यादवले १५, हर्सल पटेलले १३ र हार्दिक पाण्ड्य र दिनेश कार्तिकले १२/१२ रनको योगदान गरे ।

इङ्ल्यान्डको लागि क्रिस जोर्डनले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । रिचार्डले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए । अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आज आइतबार हुनेछ ।