बिहिबार, असार ०४, २०८३

बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमत पारित

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट ल्याएको थियो । यही असार १ गते बसेको प्रदेशसभामा मन्त्री जम्मकट्टेलले उक्त बजेट प्रस्तुत गरेका थिए। कूल रु ७० अर्ब ९३ करोड बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको थियो ।

प्रदेशसभाको आज बसेको तीन चरणको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ माथि छलफल भएको थियो । बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरेको छ ।

बैठकमा विभिन्न मन्त्रालय र निकायहरूको बजेटका शीर्षकहरूमाथि १९ सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् ।

गठबन्धनको नेकपा माओवादी केन्द्रको २३,नेपाली कांग्रेसको २२,नेकपा एकिकृत समाजवादीको १३ र जसपाको १ जना सांसद छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ४१,विवेकशील साझाको ३,राप्रपा र नेमकिपाको २/२ जना छन् ।