बिहिबार, बैशाख ०६, २०८१

जाजरकोटमा नेविसंघ नेता शाहको हत्या

जाजरकोट,१६ चैत । जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ (नेविसंघ) का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।हत्या पछि शाहको शव साढे तीन सय मिटर तल भिरमा फालिएको थियो ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका शाह पाँच तारा युवा संरक्षक मञ्चका जिल्ला अध्यक्ष थिए । मंगलबार साँझ जाजरकोट सदरमुकाम खलंगाबाट जाजरकोट डोल्पा सडकखण्डमा ‘इभिनिङ वाक’ गरेर फर्कंदै गर्दा अज्ञात समूहले शाहमाथि ढुंगा प्रहार गरेको उनीसँगै गएकामध्ये एक हिटलरसिंह राठौरले जानकारी दिए । आजकोअन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

शाहको भेरी नगरपालिका ३ खाप्लेमा हत्या भएको हो । हत्या भएको स्थल सदरमुकामबाट एक किलोमिटर टाढापर्छ । उनीसँगै चारजना घुम्न गएका थिए । अज्ञात समूहले आक्रमण सुरु गरेपछि अन्य तीनजना भाग्न सफल भएका छन् ।