काठमाडौं, १४ चैत । मागेपति तेल र ग्यास पाउने गरी सोमबार नेपाल र भारतबीच थप पाँच वर्षको इन्धन आपूर्ति सम्झौता हुने भएको छ । अर्को विकल्प नभएसम्म लागि भारतबाटै शत प्रतिशत इन्धन ल्याउने गरी नयाँ सम्झौता हुन लागेको हो ।
यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली अाजै भारत गएको छ ।
सम्झौताको लागि आपूर्तिमन्त्रीकै नेतृत्वमा नेपाली टोली दिल्ली हिँडेपनि यसलाई गोप्य राखिएको छ । सम्झौता हुने विषय किन गोप्य राखिएको भन्नेबारे निगमका अधिकारीहरु बताउन चाहँदैनन् । सम्झौताको सबै विषय सार्वजनिक भईनसकेकाले नेपाली टोली भारत जानेबारे निगम र आपूर्ति मन्त्रालय गुपचुप रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अब नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले ‘अब्जेक्सन’नगर्ने र प्रशोधनसमेत गरिदिने गरी यो सम्झौता हुनेछ ।
सम्झौताको अन्तिम ड्राफ्ट तयार भइसकेको छ । सोमबार आपूर्तिमन्त्री बोहोरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आयल काठमाडौंमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम (आईओसी) बीच सम्झौतामा हस्ताक्षर हुनेछ ।