शनिबार, बैशाख ०८, २०८१

‘निर्यात प्रवद्र्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड’

निर्यात प्रवद्र्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृ संस्था युथ चेम्बरले मङ्गलबार यहाँ आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान’ विषयक कार्यक्रमका सहभागीहरुले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र सही दिशामा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताउनुभयो । उहाँले आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र बैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो ।

“अर्थतन्त्रमा संरचनागत समस्या छ, कृषि सडकदेखि जलविद्युत् सबै क्षेत्रमा आयात गर्नुपरेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो । आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको बताउँदै यसबारे सरकार संयम हुनुपर्ने बेला आएको बताउनुभयो । उपभोग्य वस्तुहरुको अभावसँगै मुल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको उहाँको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले सरकारले हचुवाका भरमा वस्तुहरुको आयात रोकेको बताउनुभयो । सरकारले आयातलाई नियन्त्रण नभई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कुन वस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला निजी क्षेत्रसँग छलफल गर्नुपर्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले वैदेशिक विनिमय सञ्चितिमा असर गर्न थालेपछि बिलासिताका वस्तुको आयात केही समयका लागि नियन्त्रण गरिएको बताउनुभयो । युथ चेम्बरका अध्यक्ष दीपेशरत्न तुलाधरले मुलुकको अर्थतन्त्रलाई सही दिशामा ल्याउनका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।