शनिबार, बैशाख ०८, २०८१

प्रधानमन्त्री प्रचण्ड चीन जानु अघि सहमति गर्ने प्रयास असफल

काठमाडौं,१० चैत । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सीमांकन हेरफेर बाहेकका अन्य विषयमा सहमति जुटाउन प्रस्ताव राखे । सीमांकनका विषयमा सुझाव दिन तत्काल अयोग बनाउने र प्रदेश तथा केन्द्रको निर्वाचन गर्नु अघि यसबारे निर्णय लिने उनको प्रस्ताव छ ।

तर, एमाले नेताद्वय गौतम र नेम्वाङले केके विषयमा सहमति गर्ने थाहा नै नभएको बताए । सत्तारुढ दलहरुले ठोस प्रस्ताव अघि सारेपछि पार्टीमा छलफल गर्ने दुबै नेताले बताए । यद्यपि सीमांकन थाति राखेर अरू संशोधन अघि बढाउन एमाले सकारात्मक देखिएको छ ।

मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवले पनि सहमतिको प्रस्ताव आएपछि थप छलफल गर्न सकिने बताएका छन् । पछिल्लो चरणमा भएका छलफलहरूमा मधेसी मोर्चाले सीमांकनलाई थाती राख्ने हो भने संविधानको धारा २७४ लाई संशोधन गर्नु पर्ने माग राखेको छ ।

यसमा प्रधानमन्त्री सहमत देखिएका छन् । तर, एमालेले यसबारे ठोस धारणा ल्याएको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अबको केही दिनमा नै सहमति जुटाउनु पर्नेमा जोड दिएका छन् ।

नेताहरुबीच सम्वाद जारी राख्ने र प्रचण्ड चीनबाट आउनु अघि नै सहमतिमा पुग्न प्रयास गर्ने समझदारी भएको छ ।