बिहिबार, बैशाख १०, २०८३

नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने राखेप सदस्यसचिव टंकलाल घिसिङको दाबी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने दाबी गरेका छन् ।

सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा आइतबार सदस्यसचिव घिसिङले प्रतियोगिता समयमै हुने जिकिर गरेका हुन् ।

‘नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु,’’ सदस्यसचिव घिसिङले भने, ‘‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो । त्यसैले पहिलो पटक बैठक बोलाइएको हो । बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ । अन्तिम बोर्ड बैठक २०७५ सालमा बसेको थियो । त्यसपछि बोर्ड बैठक बस्न सकेको छैन । मेरो नियुक्तिको अवधि ४ महिना बढी भए पनि सर्वोच्चमा मुद्दा परेका कारण एक महिना पनि काम भएको छैन । समन्वय समितिको बैठक आज बस्यो । अब बोर्ड बैठक पनि चाँडै बस्छ ।’

घिसिङले नवौँ राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराए । उनले बैठकको मुख्य उद्देश्य नवौँ राष्ट्रिय खेलकुद नै भएको बताए । घिसिङले खेलाडीको नगद पुरस्कार, कीर्तिमान धारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए ।

बैठकमा सहभागी प्रदेशका सदस्य–सचिवहरुले कर्मचारी व्यवस्थापन गरिदिनुपर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नुपर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १र२ खेल थप्न पाउने प्रावधान बनाउनुपर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नुपर्ने, ऐनमा भएका जटिलतालाई फुकाउनुपर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनुपर्नेलगायतका विषयमा धारणा राखेका थिए ।