सोमबार, बैशाख ०७, २०८३

स्थानिय चुनावको उम्मेदवार बन्न एमालेले यस्तो बनायो मापदण्ड

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको मापदण्ड र टिकट वितरण सम्बन्धी कार्यविधी पारित गरेको छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गर्ने बिधी सर्वसम्मत रुपमा पारित गरेको हो ।

सचिव पृथ्वी सुव्वा गुरुङका अनुसार सिनियर, पार्टीमा निरन्तर लागेको र पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्ने लगायतलाई मापदण्ड बनाइएको जनाएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टुंगो सम्बन्धित जिल्ला हुँदै प्रदेश कमिटीको सिफारिसमा केन्द्रले टुंगो लगाउनेछ । त्यस्तै महानगरका वडाध्यक्षको टुंगो पनि केन्द्रले नै लगाउने गरी कार्यबिधी बनेको सचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिनुभयो ।

नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुख उम्मेदवारको टुंगो सम्बन्धित गाउँ तथा नगर कमिटी, जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले लगाउने सचिव पृथ्वी सुव्वा गुरुङले बताउनुभयो । । एमालेले नगर तथा गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट सम्वन्धि वडा कमिटीको सिफारिसमा गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाउने निर्णय गरेको छ ।

एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित कारबाही गर्ने चेतावनी दिएको छ
बैठकले निर्वाचन आचारसंहिता विपरित बिभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले पछिल्लो समयमा भएका वार्ताहरुको बारेमा जानकारी दिँदै चुनाव तोकिएकै मितिमा हुने आँकलन सुनाउनु भएको थियो ।

चुनाव रोक्न आन्तरिक र बाहृय चलखेल भए पनि रोकिने अवस्था नरहेको भन्दै सबै शक्ति चुनाव केन्द्रित गर्नुपर्ने बताएको थियो ।