काठमाडौं,१० चैत । सप्तरी घटनापछि २ नम्बर प्रदेशको राजविराजबाहेकका स्थानमा स्थगित नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियान केही दिनपछि नै सुरु हुने भएको छ । सम्भवतः आज बिहीबार बस्ने एमाले स्थायी समिति बैठकले त्यसबारे टुंगो लगाउने छ सचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन, पार्टीका गाउँरनगर कमिटीहरुको समायोजन र २ नम्बर प्रदेशमा अभियान चलाउने विषयमा निर्णय गर्न आज स्थायी कमिटी बालकोटमा बैठक बस्ने लागेको जनाएको छ ।
पूर्वको काँकडभिट्टाबाट गत फागुन २१ गते प्रारम्भ भएको एमालेको सो अभियान राजविराजमा आएपछि अप्रिय घटना भएपछि ३ दिनसम्म स्थगित भएको थियो । अभियान पुनः हेटौंडाबाट सुरु भई गएको चैत ५ गते सुर्खेतको वीरेन्द्रनगरमा समापन भइसकेको छ । अभियानको तेस्रो दिन एमालेले राजविराजमा सभा गरिरहँदा मधेसी मोर्चाले बिथोल्न प्रयत्न गरेपछि भएको प्रहरी कारबाहीमा परी ५ जनाको मृत्यु भएको थियो ।
२ नम्बर प्रदेशका अभियान पुग्न बाँकी ठाउँमा यही चैत १६ गतेदेखि पुनः अभियान सञ्चालन गर्ने तयारी एमालेले गरिरहेको छ । जसका लागि अहिले एमाले आन्तरिक तयारीमा जुटेको छ । अब एमालेले सो प्रदेशका सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अभियान लैजाने छ ।
सप्तरी घटनापछि सुरक्षा चुनौती बढेको हुँदा एमालेले अभियानको स्वरुप परिवर्तन गरेर सो प्रदेशमा अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ । राजविराजमा एमालेले शान्तिपूर्ण रुपमा सभा गरे पनि मधेसी मोर्चाले भने उत्तेजना फैलाउँदै सभा बिथोल्न थालेपछि भएको अप्रिय घटनालाई ध्यानमा राख्दै एमालेले अब हुने सो प्रदेशको अभियानमा सतर्कता अपनाउने बताइएको छ ।