शनिबार, बैशाख ०८, २०८१

सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माण जापानी कम्पनी निप्पोन चयन

काठमाडौ,१० चैत । सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी निप्पोन कोइलाइ चयन गरेको छ । सुरुङमार्गको नक्सा डिजाइन निप्पोन कोइले नै तयार पार्नेछ । साथै यसले निर्माण कम्पनीले गरेको कामको पनि निगरानी राख्नुपर्नेछ ।

सडक विभागले गत शुक्रबार निप्पोन कोइलाई परामर्शदाताको रुपमा चयन गरेको विभागका बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनले भने- ‘सुरुङमार्ग निर्माणका लागि परामर्शदाताका रुपमा निप्पोन कोइलाई चयन गरेका छौं, यससँगै ज्वाइन्ट भेञ्चरका रुपमा एट जापानीज इञ्जिनियरिङ र इटेको नेपाल रहेका छन् ।’ नेपाली कम्पनीलाई पनि सुरुङमार्ग सम्बन्धी अनुभव होस् भन्ने उद्देश्यले परामर्शदाताले नेपाली कम्पनीसँग पनि परामर्शदाता कम्पनीले सहकार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था सडक विभागले गरेको थियो, जसका कारण नै ‘इटेको नेपाल’ ले पनि यसमा परामर्शदाताको रुपमा काम गर्न पाएको हो ।

निप्पोन कोइलाई सडक बिभागले डिजाइन तथा नियमन गरेबापत ९९ करोड रुपैयाँ दिने भएको छ । निप्पोन कोइले एक वर्षभित्रमा नै सुरुङमार्ग डिजाइन तयार पार्नु पर्नेछ ।

निप्पोन कोइ ६० वर्ष पुरानो परामर्शदाता कम्पनी हो । ६० वर्षमा यसले ३ हजार भन्दा बढी निर्माणमा परामर्शदताका रुपमा काम गरिसकेको छ । अहिलेसम्म १ सय ३५ वटा राष्ट्रमा आफ्नो काम सम्पन्न गरेको छ ।

अब २० मिनेटमै सरर नौबिसे

सीतापाइला नौबिसे सुरुङमार्ग निर्माण भएसँगै काठमाडौंबाट नौबिसे २० मिनेटमै पुगीने छ । अहिले भने नागढुंगाको जामका कारण काठमाडौंबाट नौबिसे पुग्नको लागि ३ घन्टा भन्दा बढि समय लाग्ने गर्दछ ।

राजधानीबाट बाहिरिने मुख्य नाकामै हुने जामका कारण अहिले यो नाका हुँदै उपत्यका बाहिरिने तथा भित्रिने यात्रुले घन्टांै जाममा बस्नुपर्ने बाध्यता छ । यात्रुले अब जामको सास्ती भोग्नु नपरोस् भन्दै सडक बिभागले सुरुङमार्ग निर्माणको काम अघि बढाएको हो ।

यो सुरुङमार्ग निर्माण भएपछि यो क्षेत्रमा चल्ने सवारी साधनको इन्धन पनि बचत हुन्छ । यात्रुको समयसँगै सवारी साधनको इन्धन पनि बचत हुने भएका कारण यसबाट देशलाई आर्थिक लाभ हुने श्रेष्ठको भनाइ छ ।