बिहिबार, बैशाख १०, २०८३

पीएनजीमाथि नेपालको शानदार जीत

काठमाडौं । कीर्तिपुरमा आजबाट शुरु भएको त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार दिउँसो भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गर्दै नेपालले सिरिजमा सुखद शुरुवात गरेको हो ।

जीतको लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा अलआउट हुँदा १ सय ६८ रनमात्र जोड्न सक्यो । पीएनजीको लागि नोर्मान भानुआले अर्धसतक बनाएपनि जीतको लागि पर्याप्त रहेन । नोर्मानले २९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाउँदा सेसे बाउले ३०, चार्लेस अमिनीले २२ लेगा सिअकाले २१ र चद सोपरले १३ रनको योगदान गरे ।

नेपालको लागि सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा ४४ रन दिएर ३ विकेट लिँदा अविनाश बोरोहाले २ र सोमपाल कामीले १ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको हो । नेपालको लागि असिफ शेखले सर्वधिक ४३ रन जोडे । उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

रोहित पौडेलले २६ बलमा २ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाउँदा अरिफ शेखले ३१ रन जोडे । उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्लले ११ रनको योगदान गरे ।

पीएनजीको लागि चार्लेस अमिनी, सोपेर र नाओले २/२ विकेट लिँदा भानुआ र हेकुरेले १/१ विकेट लिए । जीतसँगै नेपाल २ अङ्क जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको छ ।

त्रिकोणात्मक सिरिजमा नेपाल, पीएनजी र मलेसिया रहेका छन् । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।