काठमाडौँ,७ चैत । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा कमल थापा बस्न थालेपछि आफुले खाइपाइ आएको सुबिधा खोसिएको भन्दै उप-प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नै पार्टीका सभापति शेरबहादुर देउबा समक्ष मन्त्रि पदबाट राजिनामा दिएर बाहिर बस्ने “धम्की” दिएका छन् । चौथो ठूलो दलको नेताले दोस्रो दलको नेताको ठाउँ लिने नसक्ने भन्दै निधिले आपत्ति जनाएका हुन् ।
देउबा निवासमा भएको बैठकमा आफु संसद्को सबैभन्दा ठूलो दलको टिम नेतृत्व गरी सरकारमा गएको, गठबन्धन बनाउन भूमिका खेलेको, देउबालाई भारतको बिश्वास दिलाउन सफलता प्राप्त गरेको लगायतका उदाहरण पेश गर्दै निधिले गुनासो सहित मन्त्रीपद छोड्ने चेतावनी दिएको जनाइएको छ । दाहालले सप्तरी घटनामा आफुलाई दोषी देखाउने प्रयास गरी मधेशमा नै आफूबिरुद्द अविस्वास पैदा हुने अवस्था सिर्जना गरेको गम्भीर आरोप पनि निधिले देउबा समक्ष लगाएका थिए । देउबा निवासमा भएको निधिको पछिल्लो ब्रिफिंग अनुसार दाहाल बिस्तारै एमालेसंग नजिकिन थालेको र देउबालाई उनले जेठमा सत्ता हस्तान्तरण गर्ने सम्भावना लगभग सकिएको छ ।
यसैबीच मर्यादाक्रम बारे निधिको यो गुनासो दाहालसम्म पुगि सकेको छ । आफु चीन जाँदा निधिलाई नै कार्यबाहक प्रधान मन्त्रीको जिम्मेवारी दिने भनी दहालले निधिलाई मनाउन खोजेकाछन् । यद्यपि निधिको धम्कीबारे दाहाल त्यति गम्भीर छैनन । मर्यादाक्रमको गाँठो नफुकेको हुनाले नै बिजय गच्छदारको सत्तारोहणपनि हाललाई स्थगित भएको छ ।