बिहिबार, बैशाख १०, २०८३

फिलिपिन्समाथि नेपालको फराकिलो जीत

काठमाडौं । आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोट ‘ए’मा नेपालले फिलिपिन्समाथि फराकिलो जीत निकालेको छ । शनिबार दिउँसो भएको दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै नेपालले छनोटमा लगातार दोस्रो जीत निकालेको हो ।

जीतको लागि २ अय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो । फिलिपिन्सको लागि जोर्डान अलेग्राले सर्वाधिक २७ रन जोडे । उनले ३२ बलमा २ चौका प्रहार गरे । यस्तै डानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन जोड्दा जोन्थन हिलले ११ रन बनाए । फिलिपिन्सका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

फिलिपिन्सलाई सस्तैमा रोक्न नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा मात्र ९ रन खर्चिएर ३ विकेट लिए । यस्तै गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा. कुशल मल्ल र दीपेन्द्र सिंह एरिको नाममा एक/एक विकेट रह्यो ।

यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । नेपालको लागि कुशल भुर्तेलले सतक र दीपेन्द्र सिंह एरिले अर्धसतक पुरा गरे । भुर्तेलले  ६१ बलमा १३ चौका र १ छक्काको सहयोगमा १ सय ४ रन बनाए । यससँगै कुशल टि-२० आईमा सतक प्रहार गर्ने कुशल तेस्रो नेपाली खेलाडी बनेका हुन् । यस्तै दीपेन्द्र सिंह एरिले ४७ बलमा ८३ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

शुरुवाती ५ ओभरमै दुई विकेट गुमाएको नेपालको लागि कुशल र दीपेन्द्रले तेस्रो विकेटको लागि १ सय ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासे । यस्तै नेपालको लागि कुशल मल्लले १२ र लोकेश बमले ६ रन जोड्दा असिफ शेखले खाता खोल्न सकेनन् ।

फिलिपिन्सको लागि डानियल स्मिथ, मिगि पोडोस्के र गुर्बुपिन्देर चोहनले एक/एक विकेट लिए ।

जीतसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । हाल नेपाल २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’को शिर्ष स्थानमा छ । पराजित क्यानडा २ फिलिपिन्स अंकविहिन रहँदै पुछारमा छ ।

आजै भएको समूहको अर्को खेलमा ओमानले क्यानडालाई ९ विकेटले पराजित गर्यो । जीतसँगै घरेलु टोली ओमान २ खेलबाट २ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ । समान अंक जोडेको क्यानडा नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ ।