शुक्रबार, कार्तिक २३, २०८१

सिंहको मृत्युको सम्बन्धमा नयाँ तथ्य सार्वजनिक

टोकियो :  बुधबार मृत्यु भएका अर्जुनबहादुर सिंहको मृत्युको सम्बन्धमा नयाँ तथ्य बाहिर आएको छ । उनको मृत्यु रहस्यमय भन्ने समाचारहरु सार्वजनिक भए पनि वास्तविकता भने अर्कै रहेको पाइएको छ ।

जापान प्रहरीको हवाला दिंदै जापानी संचार माध्यममा प्रकाशित समाचारमा सिहंको मृत्यु उपचारका क्रममा भएको खुलासा भएको हो ।

समाचारमा जनाईए अनुसार सिंहले बोकेको क्रेडिट कार्डका विषयमा प्रहरीले सोधपुछ गर्दा भित्तामा टाउको ठोक्काएपछि केहीबेर हिरासतमा राखेको थियो । सो पश्चात पुन सोधपुछ गर्दा पनि प्रहरी कार्यालयको टेबुलमा टाउको ठोके र त्यसपछि बेहोस भएपछि अस्पताल लगिएको थियो ।

दुई पटक टाउकोमा चोट लागेका सिंहलाई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको थियो ।

मानसिक सन्तुलन गुमाएका सिंह विगत एक वर्षदेखि निरन्तर औषधि खाइरहेका थिए । उनको उपचारको लागि नेपाली दूतावास, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, सुदुरपश्चिमेली समाज लगायतका संघ, संस्था र व्यक्तिहरुले सहयोग गरेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि सिंह कामविहीन थिए ।

काम विहीन उनलाई नेपाल पठाउने तयारी गरिए पनि केही समययता वेपत्ता भएका थिए । टोकियोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले जापान प्रहरीसंग यसबारे सोधपुछ समेत गरेका थिए ।

सो क्रममा जापान प्रहरीले घटनाबारे विषेश जानकारी गराउदै उपचारका क्रममा मृत्यु भएको बताएका थिए ।

 

त्यसपछि तत्कालै अस्पताल पुर्याइएका सिहंको केही बेरमा मृत्यु भएको जानकारी प्रहरीले दिएको थियो । मानसिक सन्तुलन गुमाएका सिहंले भने क्रेडिट कार्डको प्रयोग गरेको वा नगरेको भन्नेबारे कुनै जानकारी पाइएको छैन ।  जापानी संचार माध्यमहरूले अर्काको क्रेडिट कार्ड प्रयोग गरेका नेपालीलाई सोधपुछ गर्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु भएको जनाएका थिए ।