शनिबार, बैशाख ०५, २०८३

कोरोनाको कहर : कसरी सुरक्षित मनाउने लोसार

पेम्बा शेर्पा, जापान ।
कोरोना भाईरस कतिको खतरनाक छ भनेर आजको समयमा बताईरहनु पर्ने आवश्यकता छैन ।
विश्व महामारीको रुप लिएको यो भाइरस एक प्राण घातक रोग हो भन्ने कुरा पनि सर्वविदितै छ । सन् २०१९ पछि हामी सबैको जिन्दगी सँग यो भाइरस प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरे पश्चात यसबाट बच्नका लागि तोकेको मापदण्ड र नियमावली पनि विश्वभरी लागू भैसकेको छ ।

जसलाई हामी दैनिक रूपमा पालना पनी गर्दैछौ । र यस महामारी नियन्त्रण गर्ने हेतुले हामीले विभिन्न चरणमा लगभग वर्ष दिन जतीको लकडाउन पनि भोगी सकेका छौं । साथै कोरोनाका निमित्त खोप अभियान नया नया नियम दिशानिर्देश र प्रतिबन्धात्मक आदेशहरु पनी हरेक देशले आफ्नो अवस्था अनुसार लागु गरिरहेका नै छन । फलस्वरूप गत वर्ष अर्थात २०२१ को अन्ततिर संक्रमण दर केही घटेको थियो । तर दुर्भाग्यवश नयाँ साल सँगै फेरि नयाँ भेरियन्ट अर्थात ओमीक्रोनको रुप धारण गरेर सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढीरहेको छ।र यसै महामारीको दौरानमा हाम्रो वार्षिक चाड अर्थात लोसार (नयां वर्ष ) फेरी हाम्रो घरआंगन नजिक आईपुगेको छ ।

हरेक वर्षझैँ यसपटक पनि हामी हिमाली आदिवासी जनजाति समुदाय एंव सम्पुर्ण बौद्ध धर्मावलम्बीहरूको महान चाड लोसार नजिकिँदैछ ।
कोरोना भाइरस का बावजुद पनि ल्होसार मनाउन सबै उत्साहित छन । तर दुर्भाग्यवस पछिल्लो समय फैलिएको नयाँ ओमीक्रोन भेरियन्टले गरिरहेको विश्वव्यापी असर लोसारमा पनी पर्ने लगभग पक्का छ । लोसारमा हुने विभिन्न खाले भिडभाड कोरोना सार्ने माध्यम बन्ने सम्भावना उतिकै बढेको छ । शायद त्यसैको डरले होला पूर्वनिर्धारित कार्यक्रमहरू धमाधम रद्द भएको समाचारहरु पनि दैनिक आईरहेका छन । त्यसैले यसपाली पनी लोसार अनावश्यक भिड्भाड नगरी घरमै सीमित भएर परिवारको सदस्यहरू संग सानो संख्यामा मनाउदा उपयुक्त हुने देखिन्छ ।
विगतको जस्तो लोसार पर्वको अवसरमा ठूलाठूला कार्यक्रम , महोत्सव र मेलाहरू आयोजना गरेर भव्य रुपमा मनाउने सपना यसपाली सपनामै सीमित गर्दा सबैको भलो हुने देखिएको छ।
वाभाविकरुपमा यसपाली भिडबाट गर्नु सबैको लागि हितकर देखिदैन । यद्यपि यस प्रतिकुल समयमा पनी घरपरिवार तथा आफन्तको सुरक्षाको निम्ति सचेत भएर आवश्यक मापदण्ड पुरा गरी लोसार मज्जाले मनाउन सकिन्छ । सदाझै यसपटकपनी चन्द्रमास पात्रोअनुसार १२ महिनाको २९औं दिन घरमा गुथुक खाने अनी त्यसको भोलिपल्ट औशीको साँझमा चमार ,दतर , खप्से , आरक र अन्य सामग्री क्षोश्युम अगाडि सजाउने, त्यसैगरी पिठोले टाशीतके र टशीदेले लेखेर घरको भित्ता सजाउने , टावा थंगपी छेचिकको दिन बिहान सबेरै उठेर नुहाइधुवाइ गरी नयाँ लुगा लगाउने धाराबाट सफा पानी ल्याएर घ्युको कर्केन लगाई क्षोश्युममा चढाउने आदि गरौ । त्यसपछि सांग सेर्किम गरेर छ्यांकोल खाई परिवारभित्रै एकआपसमा खादा लगाइ शुभकामना आदानप्रदान गरौ । र त्यसको भोलिपल्ट मात्र भेट्नै पर्ने आफन्तहरुसँग भेट गर्ने गरौ । भेटने क्रममा खादा लगाउँदा वा चढाउँदा सेनिटाइजर प्रयोग गरी सकेसम्म भौतिक दुरि कायम गरी टावा र लामाहरुलाई घरमा बोलाउँदा बस्ने स्थानको व्यवस्था पनी आवश्यक दूरी कायम गरेर गरौं ।

अन्य साथीहरुसंग टेलिफोन , जुम , भाइबर र अन्य समाजिक संजालहरूको माध्यमबाट शुभकामना आदानप्रदान गरौ । अत्यधिक रूपमा माछा मासु र अन्य खान्की सेवन नगरौं ।
मदिरापान पनी न्युन गर्दा बेस । लोसारमा सबै आफन्त जम्मा भई पूजापाठ र खानपिन गर्ने चलन भएतापनी यो वर्ष कोरना भाइरसको त्रास भएकोले नजिकै बसेर खाने क्रममा खोक्दा हाच्छिउँ गर्दा बोल्दा र सास फेर्दा निस्कने छिटाबाट भाईरस सजिलै सर्ने भएकोले अनिवार्य मास्क प्रयोग गरौ ।

अन्तमा, महामारीको यस प्रकोपबाट बच्न र बचाउन विशेष ख्याल राखी लोसार मनाउनु पर्ने देखिन्छ । मानिसहरू धेरै जम्मा भएको स्थानमा संक्रमणको दर वृद्धि भएको तथ्य हामीले अनदेखा गर्न मिल्दैन ।र चाडबाडको बेला हामी बलियो छौ भनेर कोरोना भाइरसलाई कमजोर ठान्ने गल्ती कसैले नगरौ ।
यो अत्यन्त ठुलो महामारी हो भन्ने कुरालाई कदापी नबिर्सौ । लोसारको बीचमा वा अन्त्यतिर संक्रमित भएर अस्पतालको बेड र भेन्टिलेटरको निम्ती भौतारिनु भन्दा बेलैमा सुरक्षित भएको राम्रो ।
तसर्थ मैले जानेको छु भनेर बस्ने मात्र नभई जानेको कुरा पूर्णरुपमा व्यवहारमा लागू गर्न अत्यंत जरुरी छ । लोसार हरेकवर्ष आउँछ नमरी बांचे विगतमा झै धूमधामका साथ फेरी मनाउन पनि सकिन्छ । तर यसपल्ट भने संक्रमित भएर मृत्युवरण गरेका छट्पटिदै उपचार नपाएर बिचल्ली भएकाहरूलाई स्मरण गर्दै भिडभाडरहित आवश्यक मापदंड पुरा गरेर मात्र घरमै लोसार मनाऔ । थुची छे ।

लेखक शेर्पा नेपाली समाज जापानको अध्यक्ष हुनुहुन्छ ।