महेन्द्रनगर,३ चैत । नेकपा (एमाले) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली प्रहारबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
मेची–महाकाली अभियानअन्तर्गत बिहीबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखको चेक र ल्याप्टप पार्टीका जिल्ला अध्यक्ष तारालामा तामाङमार्फत गौतमको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
सचिव योगेश भट्टराईका अनुसार गौतमको परिवारलाई ५ लाख सहयोग र उनका छोरीका लागि एमालेले ल्यापटप हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण गर्दै एमाले अध्यक्ष ओलीले उक्त घटनामा भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने, दोषीमाथि कारवाही गर्नुपर्ने र पीडित परिवारलाई भारतले सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने आफूहरुको माग रहेको जानकारी गराए ।
ओलीले गौतमका छोराछोरीको शिक्षाका लागि राज्यले केही नगरे एमालेले पढाइदिने आश्वासन पनि दिए । ‘शहीद गोविन्द गौतमको परिवारलाई एमालेले सम्मानस्वरुप ५ लाख रकम उपलब्ध गराएको छ । छोरीहरुको शिक्षादिक्षाका लागि चिन्ता नलिनूस्, अरु कोही छैन भने एमाले छ,’ ओलीले भने– ‘आनन्दनगरमा घाइते भएका टीकाराम चापागाईंको उपचारको जिम्मा एमालेले लिन्छ ।
गौतम गत फागुन २६ गते पुनर्वासको आनन्द बजारमा एसएसबीको गोलीबाट मारिएका थिए ।