शनिबार, बैशाख ०८, २०८१

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रम प्रचण्ड

भक्तपुर,३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन तोकिएकै सयममा हुने बताउनु भएको छ ।
बिहीबार भक्तपुरस्थित सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठक उदघाटन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘अब बैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न सक्दैन । संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन हरहालतमा गर्नैपर्छ । पहिला संघीयताको कुरा गर्दा अनेक आरोप लगाइएको स्मरण गर्दै उनले बल्ल जनताले संघीयता बुझ्न थालेको भन्दै खुसी व्यक्त गरे ।

हालै भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले उत्साहजनक परिणाम हासिल गरेकोमा प्रधानमन्त्री दाहालले बधाईसमेत दिए । ‘स्ववियु मार्फत तपाईंहरुले निकै राम्रो सन्देश दिनुभएको छ । म विशेष बधाई दिनका निम्ति पनि तपाईंहरुको बैठकमा आएको हुँ ।

उनले स्थानीय तहको चुनावमा केन्द्रित हुन विद्यार्थीहरुलाई निर्देशन समेत दिए । बैठकमा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले पाँच पृष्ठको समीक्षा तथा आगामी कार्ययोजना सम्वन्धी प्रस्ताव पेश गरेका थिए । त्यसअघि सातवटै प्रदेशका संयोजकहरुले रिपोर्टिङ राखेका थिए ।