बिहिबार, बैशाख १३, २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो तलब दान गर्ने

सिड्नी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षको अन्त्यमा आफ्नो सम्पूर्ण तलब च्यारिटीलाई दान दिने भएका छन् ।

कुन च्यारिटीलाई दिने भन्ने विषयमा भने टुंगो नलागेको उनका प्रेस सेक्रेटरी सिन स्पाइसरले बताए । ह्वाइट हाउसमा पत्रकारहरुसँगको कुराकानीमा स्पाइसले भने, ‘तपाईंहरु पनि सुझाव दिनुस्, कुन च्यारिटीलाई दिँदा ठीक हुन्छ ।’

राष्ट्रपति चुनिएलगत्तै ट्रम्पले एक अन्तरवार्तामा आफ्नो तलब च्यारिटीलाई दान गर्ने घोषणा गरेका थिए ।

तर, एक हालै एक टेलिभिजनले ट्रम्पको सो घोषणाको कार्यान्वयन सम्वन्धमा ह्वाइट हाउस, अर्थ मन्त्रालय र जनशक्ति व्यवस्थापनको कार्यालय सबै अनभिज्ञ रहेको समाचार प्रशारण गरेको थियो ।
सोही विषयमा वान अमेरिका न्यूज नेटवर्कका पत्रकार ट्रे यीङ्स्टले प्रेस सेक्रेटरी स्पाइसरसँग प्रश्न गरेका थिए ।

ट्रम्पले राष्ट्रपति भएवापत वाषिर्क चार लाख डलर प्राप्त गर्छन्, जुन प्रत्येक महिना चेकबाट हस्तान्तरण हुन्छ । संघीय कानूनअनुसार ट्रम्पले फेबु्रअरीको लागि ३३ हजार ३ सय ३३ डलरको चेक फेब्रुअरी २० तारिखमा र मार्चका लागि सोही रकमको चेक मार्च २० तारिखमा प्राप्त गरिसकेको हुनु पर्ने हो ।

ट्रम्पले एक वर्षको तलबको कुल रकम २०१७ को अन्त्यमा एकैचोटी दान गर्ने स्पाइसरले बताए ।