काठमाडौं । साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरको पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्ने भएको छ । २० वटा बसका लागि भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको छ ।
यसको जानकारी पाएलगत्तै यातायात ब्यवसायी यातायत ब्यवस्था विभाग पुगेर भक्तपुरका रुटमा साझा बस चलाउन नदिन दबाव दिएका छन् । उनीहरुले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका छन् ।
लामो समयदेखि भक्तपुरका स्थानीय रुटमा यातायात ब्यवसायीहरुको एकोहोरो बोलवाला छ । अन्य केही महत्वपूर्ण रुटहरुमो एकाधिकार तोडेपनि भक्तपुरमा साझा गएको छैन ।
अब स्वयम्भुबाट- सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर- मिनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस भक्तपुरसम्म जानेछन् । यो रुटमा अहिले १० वटा बस रहेकोमा अरु १० वटा बस पनि यही रुटमा आउनेछन् ।
१० वटा बसहरु जडिबुटीबाट सानोठिमी-पुरानोठिमी-भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किनेछन् । अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक-कमलविनायक हँदै पुरानो बाटो भएर फर्किनेछ ।
भक्तपुरमा साझा बस बसपार्कमा गएर रोकिने छैन । यात्रुहरु चढाउँदै ओराल्दै भक्तपुरका दुबै बाटोमा ‘नन-स्टप’ चलिरहेने छ । विभिन्न रुटका १० वटा बसलाई ब्यवस्थापन गरेर साझाले भक्तपुरमा थप्ने तयारी गरेको हो ।
१० वटा बस जडिबुटीबाट सानोठिमी, भक्तपुर-पुरानोबाटो सूर्यबिनायक हुँदै कमलविनायक जानेछन् । अरु १० वटा बसपनि कमलविनायकसम्म पुगेर फर्किनेछन् ।