शुक्रबार, बैशाख ०७, २०८१

प्रदेश नम्बर दुईमा फेरि अभियान लिएर जान्छौँ : नेता नेपाल

कैलाली :  नेकपा (एमाले)ले फागुन २१ बाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान कैलालीको लम्की पुगेको छ । लम्कीको सभालाई सम्वोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बृद्धभत्ता दुई हजार पुर्याउने पार्टी एमाले भएको भन्दै कमैया र कमलरी प्रथाको अन्त्य पनि एमालेकै सरकारका पालामा भएको दाबी गरेका छन् ।

उनले सप्तरी घटना मधेसी मोर्चाका केही नेताहरुले नियोजित रुपमै घटाएको भन्दै एमालेको अभियान कसैले रोक्न खोज्दा नरोकिने चेतावनी पनि दिए । ‘सप्तरी घटनापछि प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री विमलेन्द्र निधी र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई कार्यक्रम रोक्न भनेका थिए,’ नेपालले भने, ‘उनीहरुले प्रहरीले सुरक्षा दिन सक्दैन भन्दै अभियान स्थगन गराउने प्रयास गरेका थिए तर हामीले मानेनौँ ।’

उनले एमालेको लोकप्रियता देखेर केहीले कमजोर पार्ने प्रयास गरे पनि त्यो सफल नहुने दाबी पनि गरे । ‘एमालेको सभालाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘अलि–अलि भाड्ने कोशिस कसैले गरेका होलान् । तर, त्यो उनीहरुको योजना पूरा भएन । केहीलाई यो कार्यक्रम रोकिदिए हुन्थ्यो भन्ने लागेको थियो त्यो पनि पूरा भएन ।’

उनले सप्तरीमा भएको घटनापछि एमालेले दुई नम्बर प्रदेशका केही ठाउँमा केही समयका लागि अभियान स्थगन गरेको भन्दै केही समयपछि फेरि ती स्थानमा कार्यक्रम गर्ने दाबी गरे । ‘एमालेले पाँच जनाको मृत्यु भएपछि केही समयका लागि कार्यक्रम स्थगन गरेको हो,’ उनले भने, ‘प्रदेश नम्बर दुईमा फेरि कार्यक्रम गर्छौ ।’ उनले अहिलेको संविधानले सबैलाई अधिकार दिएको भन्दै केहीले फैलाएको भ्रमका पछि नलाग्न पनि आग्रह गरे ।

ड्ड ‘एमालेको बाटोमा अवरोध सिर्जना गर्नेहरुले थाहा पाऊन्, जनताको समर्थनका कारण हामीलाई कसैले रोक्न सक्दैन । ०५१ सालमा सुरु गरेको सामाजिक सुरक्षा भत्ता सुरु गर्दासम्म बृद्धाबृद्धालाई मार्छ भन्ने प्रचार गरियो । त्यसका लागि नाम संकलन गर्दासमेत खाल्डो खनेका छन्, पुर्नका लागि नाम टिपिरहेको छ भन्ने प्रचार गर्दथे । अहिले पनि एमालेसँग राजनीतिक रुपमा सामना गर्न नसकेपछि अनेक आरोप लगाइरहेका छन्,’ उनले भने, ‘सुदूरपश्चिमको विकासका लागि एमालेले विशेष ध्यान दिएको छ । यहाँ मेडिकल कलेज स्थापना गर्नेदेखि अरु ठूला आयोजना निर्माण जस्ता काममा हामीले ध्यान दिएका छौँ ।’

उनले कञ्चनपुरमा भएको घटनाका सम्बन्धमा भारतले नेपालसँग माफी माग्नु पर्ने बताए । ‘०१६ सालमा उत्तरी सीमामा यस्तै हुँदा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले हिम्मत गरेर चीनसँग माफी माग्नुपर्छ भनेका थिए,’ उनले भने, अहिले प्रचण्डमा त्यो हिम्मत छ कि छैन ? साहसका साथ के उनले त्यो भारतसँग भन्न सक्छन् ? जीवनको मूल्य पैसासँग त साट्न सकिन्न तर गोविन्द गौतमका परिवारको रेखदेखका लागि पाँच करोड भारु क्षतिपूर्ति दिनुपर्छ । सरकारले लम्पसार हुने नीति छाडोस्, नेपालका पक्षमा उभियोस् ।