इङ्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले पुनरागमन जीत निकालेको छ । शनिबार बेलुकी भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।
इमिरेट्स रंगशालामा भएको खेलमा सिटीलाई जीत दिलाउन रियाद माह्रेज र रोड्रीले समान एक/एक गोल गरे । आर्सनलको लागि बुकायो साकाले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित हुन बाध्य भयो । खेलको ३१ औं मिनेटमा टिएर्न्रीको पासमा साकाले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा रियाद माह्रेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । ५९ औं मिनेटमा गाब्रियल रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ गोलको जीत दिलाए ।
जीतसँगै सिटी २१ खेलबाट ५३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । पराजित आर्सनल २० खेलबाट ३५ अङ्कको साथ चौथो स्थानमा छ ।

