बिहिबार, बैशाख १०, २०८३

साफ यु-१९ मा श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं । बंगलादेशमा जारी साफ यु-१९ वुमेन्स च्याम्पियनसिपमा नेपालले फराकिलो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

वीर श्रेष्ठ शहेद शिपाही मोस्ताफा कमल रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गर्दा सविता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले समान एक/एक गोल थपे । खेलको पाँचौ मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । लगत्तै सविताले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

४३ औं मिनेटमा मेनुकाले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाइन् । ४३ औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई फराकिलो जिततर्फ अगाडि बढाइन् । ५३ औं मिनेटमा सलोनीले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलान् । यस्तै ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० गोलको जित दिलाएकी हुन् ।

जितसँगै नेपाल २ खेलबाट ४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।