काठमाडौं । क्याटलान क्लब बार्सिलोनालाई हराउँदै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै बोका जुनियर्सले उपाधि चुमेको हो ।
किङ साउद युनिभर्सिटी रंगशालामा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । पेनाल्टी सुटआउटमा जुनियर्सको लागि मार्कोस रोजो, कार्लोस इज्कुइर्दोज, क्रिस्टेन पाभोन र एरोन मोलिनासले गोल गरे । बार्सिलोनाको लागि डानि आल्भेस र फेरान जुटिगा ब्लान्कले गोल गर्दा माथुस पेरेरा र गुलिएम जेमि चुके ।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा कौन्टिन्होको पासमा फेरान जुट्ल्गा ब्लान्कले गोल गर्दै क्याटलान क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा फाब्राको पासमा एक्सक्विल जेबाल्लोसले गोल गर्दै जुनियर्सलाई बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

