मङ्गलबार, असोज २२, २०८१

एसएसबीबाट मारिएका गौतमलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुर,२८ फागनु ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

सरकारबाट शहिद घोषित गौतमलाई ११ तोपको सलामी दिइने भएको छ । अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए ।

गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार शहिद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

गौतमको शव हाल सेती अञ्चल अस्पतालमा राखिएको छ । उनको शनिबार पोष्टमार्टम भएको छ । अस्पताल परिसरबाट आइतबार बिहान साढे ८ बजे उनको शवयात्रा निकालि शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको छ ।