काठमाडौं,२७ फागुन । जाजरकोटमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृतक सबैको सनाखत भएको छ ।
बिहीबार दिउँसो सदरमुकाम खलंगाबाट साल्माको खारा जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस भेरीमालिका-४ बोहोरा गाउँको मोडबाट करिब दुई सय मिटर तल पासागाड खोलामा खसेको थियो । घटनास्थलमै १३ जनाको र जिल्ला अस्पतालमा उपचारको क्रममा थप १३ जनाको मृत्यु भएको डिएसपी भावेश रिमालले जानकारी दिए ।
जाजरकोट प्रहरीका अनुसार दुर्घटनामा भेरीमालिका नगरपालिकाका मात्रै १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भेरीमालिका-१० का सन्तोष राना, भेरीमालिका-११ का गोपाल सुनार, भेरीमालिका-११ की शर्मिला सुनार, भेरीमालिका- ४ का गणेश बोहोरा, भेरीमालिका-४ का नविन चन्द, भेरीमालिका-३ का शान्त सुनार, भेरीमालिका- १२ का बहादुर भण्डारी, भेरीमालिका-१३ की हिउसरा गिरी, भेरीमालिका-११ का गोप्ली सुनार र भेरीमालिका-८ का चैते खत्री छन् ।
यसैगरी दह-४ जाजरकोटका रामबहादुर बस्नेत, सिमा-९ का मदन पुन, दसेरा-१ का दिलबहादुर बुढा, दसेरा-२ का मनिराम जैसी, गर्खाकोट-४ का हरिबहादुर शाही, मजकोट-७ का दले तिरुवा, पजारु-८ का नैन दमाई, जुगाथापाचौर- ५ का भरत बिसी, साल्मा-५ का नन्दलाल जैसी, आइते कामी र जिते कामीको पनि मृत्यु भएको छ ।
यस्तै दुर्घटनामा चौरजहारी-४ रुकुमका कृष्ण गिरी र स्वीकोट सल्यानका उदय बुढाको पनि जाजरकोट बस दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओरालो बाटोमा ब्रेक फेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् ।