शुक्रबार, कार्तिक २३, २०८१

जुनसुकै अवस्थामा तोकेकै समयमा निर्वाचन : नेता पौडेल

पर्वत,२६ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने दाबी गरेका छन् ।

बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलामा नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसक्ने बताए । चुनावको मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको भन्दै उनले अब किन र केका लागि रोक्न भनेर प्रश्न गरे ।

कांग्रेस नेता पौडेलले मधेसवादी दलहरुले भन्दैमा कुनै पनि हालतमा चुनाव स्थगन नहुने दाबी गरे । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने उनको भनाइ छ ।

हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्नेमा जोड दिए ।