बुधबार, असोज ०२, २०८१

कञ्चनपुरको सीमा क्षेत्रमा झडप ,एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

काठमाडौं,२६ फागुन । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।

गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।

आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।