बिहिबार, चैत १५, २०८०

सप्तरी घटना नेताहरुको सामूहिक हत्या प्रयास : एमाले,

काठमाडौं, २४ फागुन । नेकपा एमालेले सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको दाबी गरेको छ । उसले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाएको छ र राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ ।

एमालेको मेची-महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

घटनापछि ३ दिनलाई अभियान स्थगित गरेर काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरे ।

 

एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको दाबी गरिएको छ ।

आफ्नो मेची-महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला-बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको एमालेले बताएको छ । र, यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने बताएको छ ।

एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष माग गरेको छ ।

महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा तीन जनाको ज्यान जाने गरी भएको सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनु पर्ने समेत उल्लेख छ ।

ईश्वर पोख्रेल
महासचिव, नेकपा (एमाले)
सप्तरी घटना लोकतन्त्रमाथिको प्रहार हो । सुरक्षाकर्मीमाथि पचासौँ बम प्रहार हुँदा उनीहरुले आफ्नो सुरक्षका लागि गोली चलाउँदा त्यस्तो घटना भयो । अहिले पनि ४५ जना सुरक्षाकर्मी घाइते भएको जानकारी आएको छ । हामीले शान्तिपूर्ण ढंगले अभियान सञ्चालन गरिरहँदा अनि अभियानप्रति लाखौँ जनताले देखाएको सहभागिता र ऐक्यबद्धताबाट अत्तालिएकाहरूले सप्तरीसम्म आइपुग्दा अभियानमा हिँडिरहेका गाडीमा जुत्ता हान्ने, कालो झण्डा देखाउने, कार्यक्रमस्थलमा आक्रमण गर्न खोज्ने जस्ता क्रियाकलाप गरे । सुरक्षाकर्मीको सुझबुझपूर्ण व्यवहारका कारण ठूलो क्षति हुन पाएन । यस्तो क्रियाकलापलाई नरोक्ने हो भने लोकतन्त्र धरापमा पर्छ ।

तर, हाम्रो पंक्तिले संयमता नै प्रदर्शन ग¥यो । लोकतन्त्रमा अपरिहार्य निर्वाचनको स्थितिलाई विथोल्दै बाह्य चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरूका बीच द्वन्द्व सिर्जना गर्ने दुराशयबाट राजविराजको निन्दनीय घटना गरिएको छ । मधेसी मोर्चा सम्बद्ध दलहरूले संस्थागत रूपमै खुलेआम उक्त प्रकारको क्रियाकलाप गर्नुका साथै हाम्रो शान्तिपूर्ण र अनुशासित कार्यक्रममाथि आक्रमण गर्ने कामलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।
भीम रावल 
उपाध्यक्ष
नेकपा (एमाले)
सप्तरी घटनापछि एमाले जिम्मेवार बन्नुपर्छ भनेर केहीले कुतर्क गर्दै आएका छन् । यस्ता कुतर्कको कुनै अर्थ छैन । यस्ता अपराधिक घटना घट्नु अघि राज्यलाई थाहा हुनुपर्छ र राज्यले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने तयारीमा जुट्नु पर्छ ।

मञ्चमा बसेका एमालेका शीर्ष नेताहरुको सामूहिक हत्या गर्ने गरी कोही भाला–खुकुरी, पेट्रोल बम लिएर आउँछ भने त्यसलाई निस्तेज गर्न सुरक्षाकर्मीले गोली चलाउने सामान्य कुरा हो । यो घटना गर्न दिने र गैर जिम्मेवार अभिव्यक्ति दिदैँ हिड्ने गृहमन्त्रीले जिम्मा लिनुपर्छ । अहिले सप्तरीको घटनापछि एमाले कार्यकर्ता सशंकित भएका छन् । उनीहरुलाई राज्यले सुरक्षा दिनुपर्छ हामी त्यसको निरन्तर खवरदारी गरिरहन्छौँ ।

सुवास नेम्वाङ
उप–नेता संसदीय दल 

सप्तरी घटनाले नेपाली जनताले स्वतन्त्रपूर्वक बाँच्न पाउने र आफ्ना कार्य गर्न पाउने अधिकारको हनन् भएको छ । कसैले एमालेले ठूला कार्यक्रम गर्नुहुँदैन । तराई–मधेसमा एमाले जानैँ हुदैँन । त्यहा ठूला कार्यक्रम एमालेले गर्नै हुँदैन । जनताको घर–दैलोमा एमाले जाँनै हुँदैन भन्छ भने तपाईँहरु नै भन्नुहोस हामी र्ती सबै काम रोकौँ त ?

हामीले त मधेसी मोर्चाका साथीहरुले कालो झण्डा देखाउँदा हाँसेर टाटाबाइबाई भनेकै थियौँ । तर, उहाँहरुले त पेट्रोल कोशीको किनारमा पाईन चिल्ला ढुंगा झोलामा बोकेर आउनु भएको थियो । उहाँहरुले मञ्चमा प्रवेश गरेर नेतृत्वको सामूहिक हत्या गर्ने प्रयास गर्नु भएको थियो । तर, हामी डराएनौँ ।

हाम्रा सबै कार्यकर्ताहरुलाई सुरक्षित रुपमा बाहिर पठाएर हामी अन्तिममा निस्क्यौँ । यो कुरा उहाँहरुले बुझ्दा राम्रो हुन्छ । जिम्मेवार गृहमन्त्री हुनुहुन्छ भने यी सबैको जिम्मा लिनुपर्छ । सरकार, मेधसी मोर्चा र गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुपर्छ ।

प्रदीप ज्ञवाली
सचिव, नेकपा (एमाले)

आफ्नो आवरणमा विखण्डनवादी गतिविधि गर्न दिनु भनेको के–हो ? कार्यक्रम स्थलमा बम राखेको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ कि पर्दैन ? अहिले निहत्था जनता मारिए भनेर चर्चा गरिएको छ । आन्दोलनमा आएर पेट्रोल बम प्रहार गर्छ भने त्यसलाई कसरी निहत्था भन्ने ? यदि अनुसन्धानका क्रममा निहत्था व्यक्ति मारिएको रहेछ भने एमाले जिम्मेवारी लिन तयार छ ।

अहिले आफ्नो स्वार्थ पूरा गर्ने शक्तिले निर्वाचन हुन र संविधान कार्यान्वयन हुन नदिन बाहना बनाइरहेका छन् । ती सबैलाई चिरेर निर्वाचन गर्नुपर्छ । त्यसको विकल्प छैन । निर्वाचन हुन्छ, जसरी पनि हुन्छ ।

योगेश भट्टराई 
सचिव, एवं प्रचार विभाग प्रमुख 

राजनीतिक, सैद्धान्तिक र कार्यक्रमिक रूपले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकेपछि र जनताको साथ नपाउने भएपछि तथा तराई–मधेसमा फैलाइएका भ्रम नेकपा (एमाले) ले यस अभियानमार्फत चिर्छ भन्ने त्रासले सुनियोजित रूपमा राजविराज घटना मञ्चन गराइएको छ र मानिसहरुको ज्यान लिइएको छ ।

शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रयोग क्रम हुनेक्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्दछ । यस्ता आततायी घटनाको निष्पक्ष रुपमा छानबिनका लागि सम्बद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गर्दछौँ । हामी राजविराज जाँदा बुद्ध भएर गएका थियौँ । अहिले झन् बलियो बुद्ध भएर फर्किएका छौँ । हामी अहिले पनि मुठभेडका पक्षमा छैनौँ । तर, हाम्रा कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।