सोमबार, भदौ २४, २०८१

सप्तरीमा सुरक्षाकर्मीको गोलीबाट ४ मधेसीको मृत्यु ,अवस्था तनाव

राजविराज,२४ फागुन । नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सोमवार झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ-४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

मण्डलको भने धरान पुर्‍याए लगतै निधन भएको छ । यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ ।

घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् भने प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्दिय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, संजय यादवसहितका लाठी चार्जबाट घाइते भएका छन् । घाईते मध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।

मोर्चाका कार्यकर्ताको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको एक थान सञ्चार सेट समेत खोसेर लगेका छन् ।

सवारी साधन जलाउने, प्रहरीमाथि पेट्रोल बम आक्रमण गर्ने गरेपछि सुरक्षाकर्मीले सयौं राउण्ड अश्रु ग्याँस र हवाई फायर गरेको थियो । प्रहरीका अनुसार एमालेको कार्यक्रमको विरोधमा करिब दुई हजारको संख्यामा मोर्चाका कार्यकर्ता उत्रिएका थिए । त्यस्तै सभामा भने ६ देखि ७ हजारको संख्यामा एमाले कार्यर्ता सहभागी भएको सुरक्षा निकायको आंकलन छ ।

घटनापछि एमालेले तीन दिनका लागि मेची महाकाली अभियान स्थगित गरेको छ भने मधेसी मोर्चालाई आन्दोलन घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।