शनिबार, असोज २६, २०८१

संविधान संशोधन गरेर मात्र स्थानीय चुनाव : डा.भट्टराई

जनकपुर,२१ फागुन  । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूहरु चुनाव विरोधी नभएको बताएका छन् । तर, संविधान संशोधन गरेर गरिने चुनाव समाधानमुखी हुने उनको तर्क छ ।

जनकपुरमा आयोजित कार्यक्रममा भट्टराईले चुनावबाट राज्यसत्ताको नेतृत्व लिएर देशलाई सम्बृद्ध बनाउने आफूहरुको सपना भएको बताए । उनले भने, चुनाव हुनुपर्छ तर, सबैभन्दा पहिले संविधान संशोधन गरेर मधेसी, थारु जनजातिको माग सम्बोधन गर्नुपर्छ ।’

संवैधानिक प्रक्रियाभन्दा बाहिर रहेका मधेसी, थारु, आदिवासी जनजातिलाई संविधानको प्रक्रियामा आउने वातावरण बनाउनुपर्ने उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘अहिले जसरी चुनाव घोषणा गरिएको छ । यो चुनाव गराउन भन्दा पनि जनतालाई ढाँट्न र सत्ता लम्ब्याउनलाई गरिएको हो कि भन्ने हाम्रो आशंका हो ।’

संघीयताको विवाद हल गर्न पहिलो संविधानसभाको राज्य पुनर्संरचना समिति र आयोगले प्रस्ताव गरेको १० प्रदेश नै उपयुक्त भएको उनले बताए ।