बार्सिलोनामाथि एथ्लेटिको म्याड्रिडको सहज जित

बार्सिलोनाका पूर्व स्ट्राइकर लुइस सुआरेज चम्केको खेलमा एथ्लेटिको म्याड्रिडले क्याटलान क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ । स्पेनिस लिग ला लिगा अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोलले पराजित गरेको हो ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक/एक गोल गरे । खेलको २३ औं मिनेटमा सुआरेजको पासमा लेमारले गोल गर्दै एथ्लेटिकोलाई खेलमा अगाडि बढाएका थिए । ४४ औं मिनेटमा लेमारको पासमा सुआरेजले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल एथ्लेटिको म्याड्रिडले २-० गोलले जितेको हो । जितसँगै एथ्लेटिको ८ खेलबाट १७ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेल्दै समान अङ्क जोडेको रियल म्याड्रिड शिर्ष स्थानमा रहेको छ । पराजित बार्सिलोना ७ खेलबाट १२ अङ्क बटुल्दै नवौं स्थानमा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: