काठमाडौं,२१ फागुन । नेकपा एमालेको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक प्रवेश गराएको छ ।
मेची-महाकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो । मेची-महाकाली अभियान अन्तरगत अाज झापामा एमालेले तीनवटा जनसभा गर्दैछ । यसका लागि एमालेका सबै शीर्ष नेताहरू झापामा भेला भएका छन् ।
अाज काँकडभिट्टा, बिर्तामाेड र दमकमा जनसभा गर्ने एमालेकाे तयारी छ ।
शुक्रबार राति बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । त्यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् ।
यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव र रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने तेली पर्सा र बैठा सर्लाहीका हुन् ।
त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।
साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई केन्द्रीय सल्लाहकार परिषदमा
मनोनयन गरेकाे छ ।