बुधबार, माघ ३०, २०८१

साढे १४ खर्ब रुपैयाँ निजी लगानीको प्रतिबद्धता

काठमाडौं, २१ फागुन । नेपालका विभिन्न १६ क्षेत्रमा साढे १४ खर्ब रुपैयाँ निजी लगानीको प्रतिबद्धता आएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न ‘नेपाल इन्भेस्टमेन्ट समिट २०१७’मा सहभागी लगानीकर्ताले यस्तो लगानी प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्वदेशी तथा विदेशी लगानीकर्ताले जलविद्युत्, कृषि, एयरपोर्ट, सुरुङमार्ग, रेल, खानी तथा खनिजलगायत क्षेत्रमा १४ खर्ब ४७ अर्ब ९९ करोड रुपैयाँ (१३.५२ बिलियन अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सम्मेलनको आयोजक उद्योग मन्त्रालयले सम्मेलनमा कम्पनीमा १ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आउने लक्ष्य लिएको थियो । लक्ष्यको ११–१२ गुना बढी लगानी प्रतिबद्धता आएपछि उत्साहित भएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए ।

‘सम्मेलन फलदायी मात्रै भएको छैन, यसले विश्वभरका मुलुकसँग ठूलो साझेदारीको विकाससमेत गरेको छ,’ उनले भने, ‘अब राष्ट्र निर्माणको अभियान सुरु भएको छ ।’

मेलामा ७ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । विदेशी तथा स्वदेशी लगानीकर्ताले मन्त्रालयले तयार पारेको फाराम भरेर लगानीका लागि प्रतिबद्धता जनाएका हुन् ।

@नयाँ पत्रिका