बिहिबार, बैशाख १३, २०८१

कोभिड विरुद्धको खोप खरीदका लागि एडीबीबाट १९ अर्ब ५८ करोड ऋण प्रदान

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता भएको छ । कोरोना विरुद्धको खोप खरिदका लागि सरकार र एडीबीबीच सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त ऋण सहायताले १ करोड ५९ लाख डोज कोरोना विरुद्धको खोप खरिद गरी सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने र यसबाट ६८ लाख नागरिक लाभान्वित हुने जनाइएको छ ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए । एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।