बिहिबार, फागुन ०१, २०८१

देश नै एमालेमय बनाउने महासचिव पोख्रेलको दाबी

काठमाडौं,१३ फागुन । विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)प्रवेश गर्नेको लहर चलेको छ । बिहीबार पनि नेपाली कांङग्रेस रसुवा जिल्ला कार्य समितीकी पूर्व सदस्य सीता अधिकारी एमाले प्रवेश गरेकी छिन् । महिला संघ रसुवाकी सचिवसमेत रहेकी अधिकारी एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेकी हुन्।

अधिकारीलाई महासचिव ईश्वर पोख्रेलले टिका लगाएर पार्टी प्रवेश गाराए । नव प्रवेशी अधिकारीले पार्टी प्रवेश गर्दै एमाले राष्ट्रियताको पक्षमा उँभिएको र एमालेले लिएका अडान राष्ट्रहितमा भएकाले प्रवेश गरेको बताइन् ।

अधिकारीलाई पार्टी प्रवेश गराउदै महासचिव पोख्रेलले देशैभरी एमालेमा प्रवेशको लहर चलेको र यो प्रकृया पार्टीले सञ्चालन गर्न लागेको मेची–महाकाली अभियानसम्म जारी रहने बताए । ‘त्यतिबेलासम्म विभिन्न पार्टीका हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने छन्,’ उनले भने, ‘मुलुक अब एमालेमय हुनेछ ।’

पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय कार्यलयका सचिव कमरेड कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु ठाकुर गैरे, सुजिता शाक्य, माधव अर्याललगायतको उपस्थिति थियो ।