काठमाडौं,९ फागुन । भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् । उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिदैं भारतीय रेलवे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताएका हुन् ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको दुई दिने नेपाल पूर्वाधार शिखर सम्मेलन–२०१७ लाई सम्बोधन गर्दै रेलमन्त्री सुरेशले रेल्वेलाइन बनाउने बताएका हुन् ।
‘मेरा मित्र हरिभक्त शर्माले काठमाडौंबाट उच्च गतिको रेल चढेर दिल्ली जाने र फर्कने सपना रहेको सुनाए,’ उनले भने, ‘यो सपना केवल सपनामा मात्र सीमित हुँदैन र चाँडै यथार्थमा परिणत गर्न सकिन्छ ।’
रेलमार्ग तुलनात्मक रुपमा स्वच्छ (ग्रीन) पूर्वाधार भएकाले नेपालले पनि यसको विकासमा जोड दिनुपर्ने उनले बताए ।
@नयाँ पत्रिका दैनिक