मङ्गलबार, चैत ११, २०८१

राजदूत नहुँदा कूटनीतिक सम्बन्ध प्रभावित

काठमाडौं,७ फागुन । लामो समयदेखि रिक्त एक दर्जनभन्दा बढी नेपाली कूटनीतिक नियोग कार्यबाहककै भरमा चल्दा दुईपक्षीय सम्बन्ध प्रभावित भएको छ ।  सरकारले राजदूत नियुक्तिका लागि गृहकार्य गरे पनि नाममा टुङ्गो लगाउन नसक्दा ढिलाइ हुँदै आएको परराष्ट्र स्रोतले जनाएको छ ।

विभिन्न देशका लागि राजदूत नियुक्तिको अन्तिम तयारी गरिरहेको बताए पनि हालसम्म १३ देशमा राजदूत नियुक्तिको प्रक्रियाले मूर्तता पाउन सकेको छैन ।  विगत तीन वर्षदेखि विदेशस्थित केही दूतावास राजदूतविहीन छन् ।  राजदूत नहुँदा खाडीका देशमा रहेका नेपाली कामदारलाई धेरै समस्या भएको भन्दै संसदीय समितिले राजदूत नियुक्तिका लागि सरकारलाई निर्देशन दिएको थियो । परराष्ट्र सचिव शङ्करदास वैरागीले भने राजदूत रिक्त १३ देशमा नियुक्ति प्रक्रिया छिट्टै हुने बताए ।

‘परराष्ट्रमन्त्री बेल्जियम र लक्जम्बर्गमा हुने योगा–ध्यानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएर फागुन ७ गते फर्केपछि मात्र यस विषयमा पुनः छलफल हुने सम्भावना छ’, स्रोतले भन्यो ।

हालसम्म नेपालले २९ देशमा आवासीय दूतावास स्थापना गरेको छ ।  नेपाली राजदूत नभएका देशमा साउदी अरेबिया, दक्षिण कोरिया, इजरायल, बहराइन, कतार, ओमन, दुबई, जापान, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, अस्ट्रेलिया र म्यानमार छन् ।  तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७३ वैशाख ७ गते २२ देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको थियो । @ गोरखापत्र दैनिक