शुक्रबार, बैशाख ०७, २०८१

राष्ट्रघाती गतिबिधि गर्नेलाई कारवाही गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं : नेकपा एमालेले तराई मधेसमा अतिवादी गतिविधि बढेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

एमालेले सीके राउतको नामै लिएर विखण्डनकारीमाथि कडा कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ । बिहीबार सकिएको एमाले पोलिटब्यूरोको दुई दिने बैठकमा सीके राउतको गवितिधिबारे छलफल भएको हो । ‘सीके राउत प्रवृत्ति र त्यसलाई मलजल गर्ने शक्तिहरुबारे गम्भीर छलफल भएको छ’ बैठकपछि केन्द्रीय सचिव  पृर्थ्बी सुब्बा गुरुङ्ले मातृ सन्देशसंग भने । एमालेले सामाजिक सुधार तथा विकासका कार्यक्रमहरु लिएर राज्य तराई मधेसमा जानुपर्ने र प्रमुख दलहरुले त्यहाँ आफ्नो गतिविधि बढाउनुपर्नेमा जोड दिएको छ । तर, एमालेले आफूलाई मधेसमा जान नदिने प्रयास भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएको छ । मधेसी मोर्चाले पछिल्लो समय एमालेका कार्यक्रममा अवरोधको प्रयास गरेको छ । यसले पनि अतिवादलाई प्रशय दिएको एमाले बैठकको निष्कर्ष छ । ‘अर्को बाटो भनेको विखण्डनवादलाई राज्यले पनि नियन्त्रण गर्नुपर्छ, राज्य संयन्त्र मूखदर्शक बनेर बस्नु हुँदैन’ एमाले सचिव भट्टराईले अनलाइनखबरसँग भने । चुनाव छिटो घोषणा गर प्रमुख विपक्षी दल एमालेले तीनवटै चुनावको मिति छिटो घोषणा गर्न सरकारसँग माग गरेको छ । साथै उसले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्नसमेत माग गरेको छ । बैठकपछि एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘यो बैठक राष्ट्र संवेदनशील अवस्थामा रहेको यस घडीमा संविधान निर्माणमा निर्णायक भूमिका खेल्ने दलहरुबीचको आपसी एकतामा विशेष जोड दिन्छ । संविधानप्रति असन्तुष्ट रहेका कतिपय दल तथा नेताहरुलाई राष्ट्रिय हित, सामाजिक सद्भाव तथा संविधानमा संस्थागत गरिएका महत्वपूर्ण उपलव्धिहरुको रक्षाका लागि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दछ ।’