बिहिबार, फागुन ०१, २०८१

मुसहर बस्ती निर्माणमा धुर्मुस सुन्तलीलाई आर्थिक संकट

महोत्तरी,२ फागुन । बर्दिवास–२ मा निर्माणाधीन ‘एकीकृत नमूना मुसहर बस्ती’लाई अपेक्षित सहयोग जुट्न नसक्दा आर्थिक संकट परेको छ ।

हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको ‘धुर्मस–सुन्तली फाउण्डेसन’ले पुस तेश्रो साता सुरु गरेको यो महत्वाकांक्षी योजनाको अहिलेसम्म ३७ प्रतिशत काम मात्रै पूरा भएको छ । ‘बैशाख १ गते भवन हस्तान्तरण गर्नुपर्छ,’ कट्टेलले बर्दिवासस्थित निर्माण स्थलमा आइतबार भने, ‘तर, अपेक्षित सहयोग जुट्न नसक्मदा समस्यामा छौं ।’ नमुना बस्तीमा ५० आवासीय घर, १ सामुदायिक भवन, एक बाल उद्यान, सार्वजनिक धाराहरु, सार्वजनिक शौचालय, पार्किङ क्षेत्र, एक मन्दिरसहित कम्पाउन्ड निर्माण गरिने योजना छ । यसका लागि ४ करोड ७८ लाख रुपैयाँ आवश्यक रहेको उनले जनाए । अनुमानित लागतमध्ये १ करोड ३ लाख रुपैयाँ सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प पीडितका लागि निर्माण गरिएको परियोजनाबाट बचेको छ । त्यसबाहेक हालै अस्ट्रेलिया भ्रमणमा ६५ लाख रुपैयाँसहित केही रकम दशविदेशका शुभेच्छुकबाट जुटाइए पनि झण्डै दुई करोड ५० लाख रुपैयाँ अपुग छ । ‘अहिले पनि हामीलाई साढे २ करोड रुपैयाँ अपुग छ,’ कट्टेलले भने, ‘रकम जुट्छ भन्नेमा हामी आशावादी छौं, तथापि वैशाखमा परियोजना सकेरै छाड्छौं ।’ बस्ती हस्तान्तरणका लागि समय कम भएकाले ठूलो रकमको खर्च पनि तीव्र भइरहेको छ । वैशाख १ गते बस्ती हस्तान्तरण कार्यक्रम तय भइसकेको छ ।