मङ्गलबार, असोज २२, २०८१

राजनीतिक गफले मात्र मधेसको भलो हुँदैन : ओली

काठमाडौं,१ फाल्गुन ।  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मधेस र मधेसी जनताका हितमा काम गर्छु भन्ने मधेसी नेतालाई गतिलो जवाफ दिएका छन् । एमाले मुख्यालय धुम्वाराहीमा शनिबार संघीय समाजवादी फोरम नेपाल परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रममा सम्बोधन गर्दै गतिलो जवाफ दिएका हुन् ।

‘कहिले काहीँ सूर्यलाई राहुले छेक्न खोज्छ,’ ओलीले भने सबै भन्दा शक्तिशाली ग्रह सूर्यलाई त कुनै बेला खण्डग्रास होइन खग्रासले नै आएर छोपिदिन्छ,’ उनले भने, ‘तर, स्थायीत्व सूर्यकै हुन्छ राहुहरु त अस्थायी मात्र हुन् ।’

उनले एमाले  सूर्य चिन्ह जस्तै भएको भन्दै कसैले हत्केलाले छेकेर नछेकिने दाबी गरे । ‘मधेसतिर क्षेत्रीय दल खोलेर केही साथीहरुले जिन्दगी भनेको नै राजनीतिक गफ हो भने झैँ गरेका छन् । कहिले काहीँ त नत्र आन्दोलन भनेर हाँसिमजाक पनि गर्छन्,’ ओलीले मधेसी दलप्रति संकेत गर्दै भने, ‘एमाले सूर्य जस्तै शक्तिशाली छ, यसलाई एकछिनको खग्रास ग्रहणले छुँदैन । एमाले केही साथीहरुले रहरले खोलेको जस्तो दवाव समूह पनि होइन । यो नेपालव्यापि पार्टी हो ।’

उनले दवाव समूहमा बस्न नसकेर राष्ट्रहितमा काम गर्ने, जनताका पक्षमा काम गर्ने पार्टी एमालेमा प्रवेश गरेको भन्दै सबैलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘अहिले कसैको खर्चमा सानो झण्डा बनाएर एमालेलाई मधेस चाहिँदैन भने मधेसी जनतालाई पनि एमाले चाहिँदैन भनेर भ्रम फैलाउने काम भैरहेको छ,’ उनले भने, ‘त्यस्ता भ्रम फैलाउनेलाई आज उहाँहरु (संघीय समाजवादी फोरम नेपाल परित्याग गरेर एमाले प्रवेश गरेका)ले मुखमा नआँट्ने  जवाफ दिनुभएको छ ।’

उनले एमाले व्यवधानलाई पार लगाउन सक्ने पार्टी भएको भन्दै सानातिना समस्याले केही फरक नपर्ने दाबी गरे ।  उनले आफू प्रधानमन्त्री भएका बेला आगामी तिहारबाट लोडसेडिङ अन्त्य गर्छु भनेर प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै भने–‘अहिले देख्नु भयो नि, राजधानीमा खोइ लोडसेडिङ ?’

उनले मधेसका मसिहा हुँ भन्नेहरुले मधेसी जनताको गास, बास र कपासको चिन्ता कहिल्यै नलिएको पनि आरोप लगाए । ‘मधेसी जनताको हितमा भन्दै १०,१२, १५, २० बुँदे माघ अघि सार्ने नेताहरुले त्यहाँका जनताको एक दिनको ‘फि’ तिरेका छन् ? एक कप चिया खुवाएका छन् ? एक बाल्टी पानी लगेर कुनै विरुवामा हालेका छन् ?,’ उनले भने, ‘जीन्दगी नै राजनीतिक गफ हो भनेर केही हुँदैन ।’