सोमबार, भदौ २४, २०८१

अस्कलका क्याम्पस प्रमुखलाई अनेरास्ववियुको चेतावनी पेलेर गए देखाइ दिन्छौँ

काठमाडौं,२८ माघ । चुनवाको मिति नजिकिंदै जाँदा उपत्यकाका विभिन्न कलजेहरुमा अहिले भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारीले उदण्ड गतिविधि गर्न थालेको छ ।

अझ् क्याम्पस प्रमुख आफ्नो पक्षको रहेका कलेजहरुमा त क्रान्तिकारीले वाइसीएलको क्याम्प जस्तो गतिविधि गर्न थालेको आरोप अनेरास्ववियुले लगाएको छ ।

शुक्रबार लैनचौरस्थित अस्कल क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारी र अखिलबीच झडप भएको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको उदण्ड गतिविधिका कारण यही फागनु १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रभावित हुने आशंका उत्पन्न भएको छ ।

क्याम्पस प्रमुखकै सहमतिमा कलेजले विद्यार्थी भर्नाको मिति २७ गतेसम्मलाई मात्र तोकेको भए पनि क्याम्पस प्रमुख राजु महाजुले आफुखुशी एक दिन भर्ना मिति बढाएर क्रान्तिकारीका विद्यार्थीहरुलाई भटाभट् भर्ना गर्न थालेपछि अनेरास्ववियुले विरोध गर्दा प्रहरीलगाएर धरपकड गरेको अनेरास्ववियुको आरोप छ । ‘पूर्वसूचना विपरित क्याम्पस प्रमुखले आफु खुशी भर्ना मिति बढाएपछि हामीले विरोध गरेका थियौँ,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, ‘तर, हाम्रा साथीहरुलाई पुलिस लगाएर लखेट्ने र क्रान्तिकारीका विद्यार्थीलाई मात्र राखेर भर्ना गर्ने काम भयो ।’

लामिछानेले सत्ताको दुरुपयोग गरेर लाखौँ रुपैयाँ खर्च गर्ने र वाइसीएल शैलीमा भर्ना गर्ने कुराको आफूहरुले विरोध गरेको बताए ।  ‘क्याम्पस प्रमुखलाई हाम्रो सुझाव छ । कुर्सीमा बस्ने भए मर्यादाभित्र रहेर काम गर्नुहोस्,’ उनले भने, ‘वाइसीएल बन्ने हो भने कुर्सी छाडेर मैदानमा आउनुहोस्, हामी लड्न तयार छौँ ।’ यद्यपि लामिछानेले आफूहरुले मुठभेड नचाहेको बताए । ‘हाम्रो माग स्ववियु निर्वाचन हो,’ उनले भने, ‘मुठभेड हामीले चाहेका छैनौँ । यदि कसैले आक्रमण गर्छ भने हातमा दही जमाएर बस्दैनौँ ।’

उनले प्रहरी लगाएर क्याम्पस प्रमुखले एक पटक आफूहरुलाई तितरवितर पारे पनि पछि नह्ने चेतावनी दिए ।  अनेरास्ववियु संगठन विभाग प्रमुख सुदर्शन सिवाकोटीले अनेरास्ववियुका कार्यकर्ताहरु सन्ध्या अधिकारी, सचिन पौडेल, सुवास सापकोटा, सन्देश ठाकुर घाइते भएको जानकारी दिए ।  केही दिन अघि पनि क्याम्पस प्रमुखले क्रान्तिकारी विद्यार्थीको मात्र पक्षमा काम गरेको भन्दै नेवि संघका विद्यार्थीले क्याम्पस प्रमुखलाई कालोमोसो दलेका थिए ।