शुक्रबार, चैत १६, २०८०

जेठ १ भित्र स्थानीय चुनाव गर्ने प्रमुख दलहरुविच समझदारी

काठमाडौं,२८ माघ । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।

निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ ।

स्रोतहरुका अनुसार सरकारले अब फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ ।

चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको बैठकमा एमाले उपाध्यक्ष भीम रावल पनि सहभागी थिए ।

एमाले र माओवादी शीर्ष नेताहरुको बैठकअघि माओवादी नेता श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए । माओवादी नेता श्रेष्ठ भन्छन्, ‘म आशावादी छु कि ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा हुन्छ र स्थानीय तहको प्रतिवेदन फाइनल गरेर आयोगलाई बुझाइन्छ ।

निर्वाचन आयोगले स्थानीय तहको चुनाव कम्तिमा दुई चरणमा गर्नुपर्ने बताएको छ । त्यस आधारमा वैशाख २९ वा जेठ १ गते पहिलो चरणको चुनाव गर्ने तयारी छ ।