विराटनगर,२५ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताउनुभएको छ ।
विराटनगरमा मंगलवार पत्रकार भेटघाटमा आज उहाँले त्यस्तो अवस्था सिर्जना हुन नदिनका लागि परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर जेठ १५ सम्ममा स्थानीय र मङ्सिरको पहिलो सातासम्ममा संसद्को निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर मात्रै नहुने भएकाले परिमार्जनसहितको प्रस्ताव पारित गर्न एमाले पार्टीको पनि सहमति आवश्यकरहेको स्पष्ट पार्नुभयो ।
संविधानको रक्षाका लागि प्रमुख तीन दलबीच सहमति आवश्यक छ भन्दै उहाँले स्थानीय निकायको निर्वाचन हुन सकेन भने सोझै संसद्को निर्वाचनतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिनुभयो ।
उहाँले निर्धारित समयमा निर्वाचन हुन सकेन र परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित भएन भने सरकारलाई दिएको समर्थनको औंचित्य समाप्त हुने जानकारी गराउनुभयो ।