सोमबार, भदौ ३१, २०८१

काठमाडौंमा हेल्थ प्रमोसन सेन्टरका लागि सात स्थान पहिचान

काठमाडौ,२५ माघ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रमुख सात स्थानमा हेल्थ प्रमोसन सेन्टर स्थापनाको लागि प्रस्ताव अघि सारेको छ ।

काठमाडौंका २९ स्थानमा रहेका शहरी स्वास्थ्य क्लिनिकमध्ये दशवटाको स्तरोन्नी गरी हेल्थ प्रमोसन सेन्टर स्थापना गर्ने योजना छ । जसमध्ये सात स्थान छनोट गरी स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालयले जनाएको छ ।

प्रस्तावित स्थानहरुमा काठमाडौंको चावहिलस्थित मैजुबहाल, मैतीदेवी, नक्सालस्थित नन्दी रात्री स्कुलको खाली रहेको जग्गा, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क तथा डल्लुस्थित डल्लु आवास क्षेत्रमा निर्माणाधीन भवन छन् ।

चाबहिल-७ मैजुबहालमा सेन्टर स्थापनाको तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए ।एक जना एमबीबीएस डाक्टर रहने हेल्थ प्रमोसन सेन्टरमा स्वास्थ्य परीक्षण गर्न सकिनेछ । साथै ल्याबको समेत व्यवस्था हुनेछ, जहाँ सर्वसाधारणलेे मिर्गौला फेल भए-नभएको हेर्न पिसाबको परीक्षण गर्न सक्नेछन् ।

यस्तै खानाको गुणस्तर जाँच्न फुड इन्स्पेक्टर राखिनेछ भने पिउने पानीको स्तर जाँच गरिनेछ । साथै मुटु रोग, क्यान्सरजन्य नसर्ने रोगका कारण हुने मृत्युलाई कम गर्न जनचेतना समेत फैलाइने मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयको ५०/५० प्रतिशत आर्थिक सहयोगमा स्थापना हुन लागेको हेल्थ प्रमोसन सेन्टरको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ भने प्राविधिक सहयोग मन्त्रालयले गर्नेछ ।