शनिबार, बैशाख ०८, २०८१

नेपाल सुपर लिग: काठमाडौं रेजर्स फाइनलमा प्रवेश

काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिग एनएसएल फुटबलको फाइनलमा प्रवेश गरेको छ। विहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे। यस्तै स्टेफेन बिनोङले एक गोल थपे । खेलको खेलको १५औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।मेसौकेको पासमा स्टेफेनले बल अगाडि बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो। जसमा मेसौकेले गोल गरे ।
खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए। तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले उत्कृष्ट गोल गरे।त्यसपछि खेलको ६० औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३–० को जित दिलाए । उनले तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलरक्षक अर्पण कार्कीसँगको वान भर्सेज वानमा उत्कृष्ट गोल गरे ।खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका आशिष गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ । धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले हराएर फाइनल पुगेको हो ।दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ ।