शनिबार, बैशाख ०८, २०८१

पोखरामा शनिबारदेखि हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयारी पूरा

पोखरा,२२ माघ । पोखरामा शनिबारदेखि हुने अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराले जनाएको छ ।  माघ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सातौं राष्ट्रिय खेलकुदको विजेता त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा रंगशाला भित्र निर्माणाधिन भलिवल टे्रनिङ सेन्टरमा रबर म्याट राखेर खेलाइँदैछ । प्रतियोगिताका खेलहरु लिगकम नकआउटको आधारमा हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ ६/६ टीम सहभागी हुने छ । सेना र सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी, भारतको उत्तर प्रदेश भलिवल संघ र आयोजक पश्चिमाञ्चल भलिवल संघले महिला पुरुष दुबैमा सहभागिता जनाउँदैछन् भने न्यू डायमन्ड एकेडेमीले महिलातर्फ र हेल्प नेपाल स्पोर्टस् क्लवले पुरुषतर्फ मात्र सहभागिता जनाउने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । प्रतियोगिताको बिजेताले महिला/पुरुष दुबैतर्फ १ लाख ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ७७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । त्यस्तै, सर्बोत्कृष्ट खेलाडीलाई १० हजार तथा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरलाई नगद ५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्षेत्रीय भलिवल संघका सचिव डिबी नेपालीले जानकारी दिए ।