बिहिबार, बैशाख १३, २०८१

सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा,पीएसजी ४-१ ले पराजित

ईङलिश क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक पुगेको छ । सेमिफाईनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाई २–० ले हराउदै समग्रमा ४–१ को नतिजासंगै सिटीले फाईनलमा स्थान बनाएको हो ।

घरेलु मैदान ईतिहाद स्टेडियममा सिटीलाई सहज जित दिलाउन दुबै गोल रियाद महारेजले गरे । ११ औ मिनेटमा पहिलो गोल गरेका महारेजले ६३ औ मिनेटमा अर्को गोल थप्दै टोलीलाई जित दिलाएका थिए । ६९ औ मिनेटमा एन्जल डि मारिया रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पिएसजी त्यसपछिको समय १० खेलाडीमा सिमित बनेको थियो । हिउँका कारण मैदानमा समस्या भएपनि खेल भने सञ्चालन गरिएको थियो । बल पोजिशनमा पकड बनाएपनि पिएसजीका केहि अवसर खेर गएका थिए ।

सिटीले च्याम्पियन्स लिगको उपाधिका लागि दोस्रो सेमिफाईनलको विजेतासंग मे २९ मा प्रतिस्पर्धा गर्नेछ । सेमिफाईनलको दोस्रो लेगमा आज राती चेल्सी र रियल मड्रिड आमने सामने हुदैछन् । स्टाम्पफोर्ड ब्रिजमा हुने खेलमा दुबै टोली जित निकाल्दै सिटीसंगको उपाधि भेट पक्का गर्ने योजनामा रहेका छन् । रियलको मैदानमा भएको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो ।