काठमाडौं,२१ माघ । नेकपा एमालेले पार्टी छोडेर अन्य पार्टीमा लागेका नेताहरुलाई पुरानै घर फर्काउने तयारी गरेको छ । त्यसका लागि एमालेले पुरानै घर फर्कन चाहाने नेताहरुको सुची बनाएर उनिहरुसंगको छलफललाई तिब्र बनाएको छ ।
स्रोतका अनुसार एमालेको सुचीमा दोस्रो संविधानसभा निर्वाचनको मुखमा तत्कालिन एकीकृत माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झा, उर्मिला अर्याल, २०६३ सालमा भएको मधेश आन्दोलनका क्रममा पार्टी छोडेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, फोरम लोकतान्त्रिकका उपाध्यक्ष जीतेन्द्र देव, २०५६ सालमा एमाले छोडेर एक सीटे पार्टी बनाएका वर्तमान खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंह, विश्वेन्द्र पासवान, संघीय समाजवादी पार्टी बनाएर हाल उपेन्द्र यादव नेतृत्वको संघीय फोरममा पुगेका अजम्बर राई लगायत रहेका छन् ।
एक एमाले नेताका अनुसार पहिलो चरणमा एमाले छोडेका नेता कार्यकर्ताहरुलाई पुरानै घर फकाएर उचित जीम्मेवारी दिने निष्कर्षसहित सुची बनाईएको छ । आगामी स्थानीय तहको निर्वाचनअघि नै पार्टी छोडेका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएर पहिलो पार्टी बन्ने एमालेको रणनीति रहेको छ ।
हालसम्म भएको छलफल अनुसार हाल नयाँ शक्तीमा रहेका रामचन्द्र झा पुरानै जिम्मेवारी पाए एमालेमा फर्कन तयार भएका छन् । झाले एमालेका विभिन्न नेताहरुसंग भेट गरी आफुहरुले विगतमा गरेको गल्तीलाई माफ गर्दै भविष्यमा कुनै विभेद नहुने प्रतिवद्धता नेतृत्वले गरे पार्टीमा फर्कन तयार रहेका समेत बताईसकेका छन् । उनीसंग पटक पटक छलफल गरेका एक एमाले नेता भन्छन् ‘रामचन्द्रजी पुरानै घर फर्कन तयार देखिनु भएको छ । तर विगतमा गरेको गल्तीका आधारमा भविष्यमा आफुहरुमाथी कुनै विभेद नहुने आधार नेतृत्वले दिनुपर्छ भनिरहनु भएको छ ।’
स्रोतका अनुसार झाले स्थायी समिति सदस्य र आगामी निर्वाचनमा पुरानै निर्वाचन बनाउनुपर्ने माग राखेका छन् । एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पहिलो चरणमा एमाले पृष्ठभूमी भएका विभिन्न राजनीतिक दलहरुमा आवद्ध वा निष्क्रीय रहेका सवैलाई पहिलो प्राथमिकतामा राखेर पार्टीमा फर्काउने गरी छलफल चलिरहेको बताए ।
श्रेष्ठले तराई मधेश घर भएका झा,महेन्द्र राय यादव, जीतेन्द्र देव लगायतका नेताहरुले एमालेमा फर्कने विषयमा सकरात्मक प्रतिक्रिया दिएको र त्यसले यही मेची महाकाली अभियानका क्रममा पुर्णता पाउने दावी गरे ।
यसैगरी एमालेले हाल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा रहेका आशोक राई, राजेन्द्र श्रेष्ठ लगायतलाई पनि पार्टीमा फर्कन आग्रह गरिसकेको छ । तर उनीहरुले भने त्यसमा खासै रुची देखाएका छैनन् । राईले नेपालपाटीसंग भने ‘एमालेमा हामीहरु पmर्कने भनेको भ्यासेक्टोमी गरेको पुरुषले तरुणी केटी विहे गर्न खोजे जस्तै हो ।’ राईले एमालेका केही नेताहरुले पार्टीमा फर्कन आग्रह गरेपनि आफूहरु नयाँ शक्ती पार्टीसंग एकताको अन्तीम चरणमा रहेकोले त्यसलाई महत्व नदिएको बताए ।
एमाले छोडेर माओवादीमा प्रवेश गरेकी उर्मिला अर्यालले भने एमालेका कुनैपनि शीर्ष नेताहरुसंग पार्टीमा प्रवेश गर्ने विषयमा छलफल नभएको जानकारी दिईन ।
एमाले केन्द्रीय कार्यालय सचिव श्रेष्ठले एमालेमै रहेर पनि केन्द्रीय कमिटि भन्दा बाहिर रहेका केही नेताहरुलाई केन्द्रीय कमिटिमा मनोनित गर्ने कुरा चलिरहेको बताए । उनले पार्टीमै रहेकाहरुलाई उचित व्यवस्थापन गर्दै पुरानै घर फर्कन चहानेहरुका विषयमा स्पष्ट योजना बनाउने काम भैरहेको जनाए ।
उनले भने ‘अहिले नै हामीले कसैलाई पनि यो पद दिन्छौँ भनेका छैनौँ । तर दुई चार महिना चर्न गएको परेवा पाँचौँ महिना घर फर्कन्छ भने त्यसलाई घर छोडेर फर्किएको भन्न मिल्दैन ।@nepalpati